हङ्कङमा कीर्तिमानी मतदान

111

हङकङ । सरकार विरोधी प्रदर्शनका कारण केही समयदेखि अशान्त रहेको हङ्कङमा भइरहेको जिल्ला परिषद्को चुनावमा कीर्तिमानी संख्यामा मानिसहरूले मतदान गरेकाका छन् । दिउसोको खाना खाने समयसम्ममा नै सन् २०१५ को चुनावमा मतदान गर्नेभन्दा बढी सख्यामा मत खसेको अधिकारीहरूले जनाएका छन् । 

यो चुनावलाई संघर्ष गरिरहेकी हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थनको परीक्षणका रूपमा हेरिएको छ । लोकतन्त्र पक्षधरहरूले पाँच महिनादेखि सरकार विरोधी आन्दोलन चलिरहेको हङकङको चुनावले चीन सरकारलाई पनि सन्देश दिने अपेक्षा गरेका छन् । हिंसा भए मतदान केन्द्रहरू बन्द गरिनसक्ने चिन्ताका माझ आइतवार लामबद्ध भएर मानिसहरू मतदान केन्द्रमा उपस्थित भएका थिए । मतदान अघि लोकतन्त्र पक्षधर आन्दोलनकारीहरूले मानिसहरूलाई मतदान नबिथोल्न आग्रह गरेका थिए । 

आइतबार बेलुकासम्म कुनै अवरोधका विवरण आएका छैनन् । हङकङको जिल्ला परिषद्मा ४०० भन्दा बढी पार्षद्हरू चुनिनेछन् । प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका छन् । परिषद्ले प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दैआएको छ । एकजना प्रमुख प्रजातन्त्रवादी नेता जोशुवा वङलाई चुनावमा उठ्न रोक लगाइएको थियो

बेइजिङ समर्थक उम्मेदवारहरूले प्रदर्शनकारी र प्रहरीबीच भइरहेको झडपहरूबाट उत्पन्न आरोह अवरोहप्रति निराशा प्रकट गर्न आफूलाई समर्थन गर्न भनेका छन् । स्थानीय समय अनुसार ७ ः ३० बजे मतदान केन्द्र खुलेका थिए ्। अहिलेसम्मकै सर्वाधिक ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका छन् । हङकङको जनसंख्या ७४ लाख छ ।

४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार छन् । र पहिलोपटक सबै पदहरूमा चुनाव हुँदैछ । ग्रामीण जिल्लाका लागि २७ सीट छुट्याइएको छ । हाल बेइजिङ समर्थकहरूले उक्त निकायको बहुमत सीट ओगटेका छन् । जिल्ला पार्षद्हरूसँग निकै कम शक्ति हुन्छ त्यसले चुनाव पनि असाध्यै स्थानीय तवरको हुने गर्छ । तर यसपाली यो चुनाव फरक हुने देखिन्छ । जुन महिनामा सरकार विरोधी प्रदर्शन सुरु भएयता पहिलोपटक यस्तो चुनाव हुँदैछ । त्यसैले यसले वर्तमान सरकारसँग कति समर्थन छ भन्ने परीक्षण गर्नेछ । 

हङ्कङ ब्यापटिष्ट विश्वविद्यालयका सह प्राध्यापक केनेथ चानले रोयटर्स समाचार संस्थालाई भने, ‘हङ्कङका बासिन्दाले आफ्नो विचार व्यक्त गर्ने माध्यमका रूपमा यसलाई हेरेका छन् र त्यसले क्यारी ल्यामको सरकारबारे पनि मतदाताहरूको धारणा स्पष्ट पार्नेछ ।’ हङकङको चुनाव प्रणाली बमोजिम ११७ जिल्ला पार्षद्हरू १२०० सदस्यीय समितिको सदस्य बन्नेछन् जसले अन्ततः प्रमुख कार्यकारी चयन गर्नेछ । त्यसैले प्रजातन्त्रवादीहरूको ठूलो जित भयो भने शहरको प्रमुख कार्यकारी को बन्ने भन्नेमा उनीहरूको पनि हात हुनेछ ।

केही प्रख्यात व्यक्तिहरू पनि चुनावमा उठेका छन् । बेइजिङ समर्थक सांसद जुनियस हो (जो शहरका एक अति विवादास्पद राजनीतिकर्मी हुन्) पनि एक उम्मेदवार हुन् । समर्थकको भेषमा आएका एक व्यक्तिले यसै महिनाको सुरूमा उनलाई धारिलो हतियार प्रहार गरेका थिए । उनले हालै आलोचना खेपिरहेको हङकङको प्रहरीको समर्थनमा पटक पटक आफ्नो धारणा सार्वजनिक गरेका छन् । एकजना राजनीतिक अभियानकर्मी जिम्मी शाम पहिलो पटक चुनाव लड्दै छन् ।

उनले नागरिक मानव अधिकार मञ्चका प्रमुख नेताका रूपमा छवि बनाएका छन् जसले केही सार्वजनिक विरोध प्रदर्शन आयोजना गरेको थियो । शाममाथि दुईपटक आक्रमण भएको थियो, उनीमाथि घनले प्रहार गरिएको थियो । फोटोग्राफरहरूले उनी रगतमा लतपत भएर सडकमा लडेको देखाएका थिए ।

यो चुनावमा नलडेका अनुहारहरू पनि उल्लेखनीय छन् । प्रजातन्त्रवादी अभियानकर्मी जोशुवा वङलाई चुनावमा उम्मेदवार बन्न रोक लगाइएको थियो जसलाई उनले ‘राजनीतिक भेदभाव’ भनेका थिए ।