हमिद भ्रमणको विशेषता

नेपाल र बंगलादेशको कूटनीतिक सम्बन्ध नयाँ होइन । पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्थापना भएलगत्तै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । भौगोलिक दृष्टिले पनि नेपाल र बंगलादेश टाढा छैनन् । निकट सम्बन्धका दृष्टिले भारत र चीनपछि बंगलादेश नै हो । दुई देशबीच स्थल दूरी ३० किलोमिटरभन्दा कम छ । दुई देशबीच व्यापारको हिस्सा पनि निकै ठूलो छ । दुवै देश सार्क र बिमस्टेकजस्ता साझा मञ्चमा छन् तैपनि उच्चस्तरीय भ्रमण नगन्य छ । टाढा भएजस्ता देखिए ।  

तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद एर्सादको भ्रमणको तीन दशकपछि बंगलादेशबाट उच्चस्तरीय भ्रमण भएको छ । त्यही समयमा नेपालबाट राजा वीरेन्द्रले बंगलादेशको भ्रमण गरेका थिए । यति वेला बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको भ्रमणमा छन् । उच्चस्तरीय भेटवार्ता भएको छ । राष्ट्रपति हमदिको भ्रमणमा कुनै सहमति वा सम्झौता नहुने भए पनि दुई देशबीच फेरि द्विपक्षीय उच्चस्तरीय भ्रमणको ढोका खुला भएको छ । यसले थप सम्भावना खोजीको बाटो फराकिलो हुनेछ । 

नेपालले तीन वर्षअघिसम्म बंगलादेशसँग नाफाको व्यापार गरेको थियो । त्यसयता नेपाल निरन्तर घाटामा छ । बंगलादेशसँग पर्याप्त सम्भावना भएर पनि आयातको तुलनामा नेपालको निर्यात बढ्न सकेको छैन । बंगलादेशको ठूलो जनसंख्याका लागि ठूलो परिमाणमा विद्युत आवश्यक छ । बंगलादेश थर्मलप्लान्टबाट २१ हजार मेगावाटको हाराहारी विद्युत उत्पादन गर्छ, माग बढेको बढ्यै छ । आगामी एक दशका १० हजार मेगावाटभन्दा बढी आवश्यक पर्नेछ । बंगलादेश नेपालको जलविद्युतमा लगानी गर्न र विद्युत आयात गर्न इच्छुक छ । 

नेपाल र बंगलादेशलाई स्थलमार्गबाट जोड्ने फूलबारी–बंगलाबन्धु मार्गको पर्याप्त सम्भावना भएर पनि अपेक्षाअनुसार उपयोगी हुन सकेको छैन । स्थलमार्गको अधिकतम उपयोगिताका लागि भारतको सहयोग पनि आवश्यक पर्छ । यसका लागि दुवै मुलुकले पहल गर्न सक्छन् । यसमा भारतले आवश्यक सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ । पर्यटनको सम्भावना पनि कम छैन । मेडिकल शिक्षाका क्षेत्रमा पनि बंगलादेशको सहयोग रहेको छ । धेरै नेपाली विद्यार्थीले बंगलादेशबाट चिकित्सा शिक्षा हासिल गरेका छन् । उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू हुन सके भने दुवै देश एकअर्काबाट लाभान्वित हुनेछन् ।

नेपालले छिमेकी तथा मित्र राष्ट्रहरूसँगको प्रगाढ सम्बन्ध र सहकार्यमा जोड दिएको छ । हालै उत्तरी छिमेकी चीनका राष्ट्रपति सि चिन फिङ नेपाल आए । चिनियाँ राष्ट्रपतिको भ्रमण दुई दशकभन्दा लामो अन्तरालमा भएको थियो । भारतीय प्रधानमन्त्री मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक आए । राजनीतिक परिवर्तनपछि नेपालले छिमेक, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्धमा जोड दिएको छ । विकास, समृद्धि र विश्वसमुदायका चुनौतीहरू सामनामा सहकार्य र सहयोगको अपेक्षा गरेको छ । 

बंगलादेशका राष्ट्रपतिको भ्रमण पनि यसकै एक कडी हो । यो भ्रमण दुवै देशका लागि विशेष हुने अपेक्षा गर्न सकिन्छ ।