हलमा आश लाग्दा दुई फिल्म

काठमाडौं । करिब तीन महिनायता नेपाली चलचित्रबाट हलवाला खुशी हुन पाएका छैनन् । अर्थात् राम्रो व्यापार हुन नसक्दा विदेशी चलचित्रको टिकट बेच्दै बसेका छन् । राम्रो नेपाली चलचित्र आउला र व्यापार राम्रो होला भनेर कुरेको लामो समय भइसकेको छ । नेपाली चलचित्रले राम्रो व्यापार गर्न कि ठूला चाडपर्व कित नयाँ वर्ष कुर्नुपर्ने हुन्छ । 

यसैबीच दुई आश लाग्दा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र क्षेत्रका दुई स्टार अभिनित चलचित्र हलमा लाग्दा हलवालासँगै दर्शकमा उत्साह छाएको छ । तर चलचित्रले कस्तो व्यापार गर्ला भन्नेमा हलवाला अन्यौलमा छन् । आजबाट प्रदर्शनमा आएका चलचित्र ‘सेल्फि किङ’ र ‘साङ्लो’ दुवैबाट आश गरिएको छ । 

नेपाली थिएटरमा जमेका र पछिल्लो समय एकपछि अर्को गर्दै हिट चलचित्र दिएका अभिनेता विपिन कार्कीको अभिनय रहेको ‘सेल्फि किङ’ विपिनकै कारण पनि विशेष छ । त्यसमाथि हास्य कलाकारको जीवनमा आउने उताडचढावलाई चलचित्रमा कसरी प्रस्तुत गरिएको छ भन्ने जिज्ञासा धेरैको छ । त्यस्तै एक्शन अभिनेताको रूपमा चर्चित विराज भट्टको अभिनय र निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’लाई पनि विशेष रूपमा हेरिएको छ । किनकी विराजले पहिलो पटक निर्देशन गरेको र लामो समय पछि नेपाली चलचित्रमा कमब्याकको हिसाबले विशेष मानिएको छ । 

चलचित्रमा मिस नेपाल २०१७ निकिता चाण्डकले अभिनय गरेकी छन् । यो उनको डेब्यु चलचित्र हो । चलचित्रको मेकिङ हेर्दा निकै उत्कृष्ट देखिन्छ । चलचित्रका प्रमोशन सामग्री हेर्दा धेरैले साउथ इण्डियन चलचित्रको तरिकाबाट निर्माण गरिएको भन्ने प्रतिक्रियासमेत आएका छन् । राजधानीमा बुधबार गरिएको ‘सेल्फि किङ’को प्रिमियरबाट सकारात्मक प्रतिक्रिया मिलेसँगै निर्माण टिम खुशी देखिएको छ । राजधानीमा गरिएको छ । नयाँ बसपार्कस्थित लोत्से मलमा रहेको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म युनिटसँगै कलाकार्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति थियो । 

क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले चलचित्रमा शीर्ष भूमिका निर्वाह गरेकै कारण फिल्म हेर्न आइपुग्ने धेरै थिए । चलचित्र हेर्न भुवन केसी, सन्तोष पन्त, निर्मल शर्मा, जितु नेपाल, केदार घिमिरे, निशा अधिकारी, केकी अधिकारी, आँचल शर्मा, नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ, आर्यन सिग्देल, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, दीपेन्द्र के खनाल, सुनिलकुमार थापा, भोलाराज सापकोटा, शोभित बस्नेत, रिमा विश्वकर्मा, सुवास गिरी, सुरेन्द्र पौडेललगायत फिल्मकर्मीको उपस्थिति थियो । 

फिल्म हेरेका कलाकर्मीले पशंसा गरेका छन् । सबैले उठान गरेको विषयसँगै कलाकारको भावनालाई यसमा प्रस्तुत गरिएको मिडियासामु प्रतिक्रिया दिए । फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् भने कथा उनकै हो । उनी यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्तरूपमा निर्माण गरेका हुन् । 

यी दुवै चलचित्रमध्ये क्युएफएक्स चेनले भने, ‘सेल्फि किङ’लाई बढी विश्वास गरेको देखिन्छ । शुक्रबारमात्र ‘सेल्फि किङ’लाई २० सो दिइएको छ भने ‘साङ्लो’लाई जम्मा चार सो छुट्टयाइएको छ । तर ‘साङ्लो’ले राजधानीबाहिरका सिंगल थिएटरमा राम्रो दर्शक कमाउने अपेक्षा राखिएको छ ।