हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै

192

न्यूयोर्क । राजनीतिक अस्थिरताका कारण हाइटीमा लामो समयदेखि विरोध प्रदर्शन जारी रहेका छन् । जसका कारण यहाँ खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ ।राजनीतिक अस्थिरताका कारण यहाँ महिना दिनभन्दा लामो समयदेखि सरकारका विरुद्धमा प्रदर्शन जारी रहेका छन् । यसका कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा जनाइएको छ ।  

यही विरोध प्रदर्शनका कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालय पनि बन्द नै रहेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले दिएको जानकारीअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ । महिनौँ लामो आन्दोलनका कारण यहाँको अवस्था अस्तव्यस्त भएको, दैनिक प्रशासन सञ्चालनका साथै उत्पादन र बन्द व्यापारको काम पनि हुन नसकिरहेको अवस्थामा देशको अवस्था नाजुक बन्दै गएकोले यहाँका लाखौँ मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने उनले बताए । उनले हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका र आगामी समयमा यो समस्या अझ थपिँदै जाने बताए । 

प्राप्त समाचारअनुसार अहिले पनि यहाँका ठूलो सङ्ख्याका नागरिक खाद्यान्न अभावको समस्यामा परेका छन् । संयुक्त राष्ट्रसङ्घले हालै प्रकाशन गरेको इन्टिग्रेटेड फेज क्लासिफिकेसन (आइपिसी) प्रतिवेदनमा यस्तो अवस्था रहेको पाइएको छ । उक्त प्रतिवेदनमा हाल करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् । जसका कारण यहाँ खाद्यान्नको समस्या आगामी केही दिनमै संकटपूर्णरुपमा बढ्ने देखिएको छ । उक्त प्रतिवेदनले विश्वव्यापीरुपमा खाद्यान्नको समस्या के कस्तो छ र त्यसका कारण के हुन् भनी पत्ता लगाउने प्रणाली बमोजिम तयार पारिएको हो । सो प्रतिवेदनले हाइटीमा खाद्यान्न अभावको समस्या एकपछि अर्काे गरी बढ्दै गएकोले यसको समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव दिएको छ । आगामी मार्च महिनासम्ममा यहाँ कम्तीमा पनि ४० लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नसक्ने उक्त प्रतिवेदनले औल्याएको छ । 

यसैकारण संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण अवस्था भएकोले यसका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताएको छ । यहाँको सङ्कटको समाधानका लागि केही न केही उपाय अवलम्बन गर्न पनि विश्व खाद्य कार्यक्रमले सबैसँग आग्रह गरिरहेको छ ।