हाम्रा अवार्डहरूमा डी सिने अवार्ड

2375

नेपाली चलचित्र उद्योगले पाँच दशकको यत्रा गरिसक्दा चलचित्रभित्रका खोलानाला र भँगालाहरू अनेकन छन् । नेपालमा निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन २०२२ सालको असोजमा ‘आमा’ चलचित्रबाट भएको थियो । यो आजसम्म आउँदा अझै पनि व्यावसायिक बन्न नसकेको हो कि भन्ने लाग्ने गरेको छ । सरकारी लगानीमा निर्मित चलचित्र ‘आमा’ निर्माण हुनु अगावै २०१८ सालमा निजी लगानीमा निर्माण थालिएको चलचित्र ‘माइतीघर’ भने ‘आमा’ भन्दा पछाडि मात्र सार्वजनिक भयो । नेपाली भाषामा निर्मित पहिलो चलचित्र भने भारतमा २००८ सालमा निर्मित ‘सत्य हरिश्चन्द्र’ लाई मानिन्छ जुन नेपालीमा पनि डबिङ गरेर सार्वजनिक गरिएको थियो । 

‘आमा’ देखि अहिलेसम्मको समय हेर्दा यस क्षेत्रमा निकै उतार चढावहरू आएको पाइन्छ । त्यसो त हामीकहाँ विभिन्न भिडियो चलचित्रदेखि लिएर विभिन्न भाषाभाषीका चलचित्रहरूले पनि त्यत्तिकै महŒव राख्छन् । तथापि, मूलधारको आफ्नै प्रकारको महŒव रहेको छ । नेपाली चलचित्र ब्ल्याक एण्ड हाइटदेखि आजको डिजिटल युगसम्म आइपुग्दा विभिन्न कलाकार प्राविधिकहरूले आफ्नो जीवन व्यतीत गरिसकेका छन् । 

यो क्षेत्र धेरैको रहर भए पनि अहिले पेशा, व्यवसाय वा आजीविका बनेको छ । अहिले पढेलेखेका, साक्षर वा वौद्धिक वर्गले पनि यो क्षेत्रलाई अँगालेका छन् । हिजो आज नवोदितहरूको चर्चा परिचर्चा र वर्चश्व देखिन थालेको छ । यो समयको माग मात्र होइन साथ पनि हो । नवकलाकारको सघन उपस्थिति र सिर्जनाले वर्तमान नेपाली चलचित्रको व्यपक उचाइ निर्धारण गरेको छ । 

नेपाली चलचित्रको आकाश जति फराकिलो हुँदैछ यसमा हमला पनि त्यतिकै भइरहेको छ । विभिन्न क्षेत्रको नक्कल भिœयाउन पनि यो क्षेत्र उद्यत देखिएको छ । मौलिकता हराउँदै गएको हो कि भन्ने चिन्ता पनि प्रकट गरेको पाइन्छ भने चलचित्र चलाउनकै लागि अश्लीलता भित्रिएको पनि पाइन्छ । 

हाम्रो चलचित्रको बजार सानो छ भन्ने गरिन्छ तर चलचित्र निर्माणक्रम भने तीव्र नै छ । हरेकवर्ष हाम्रो चलचित्र उद्योग कलिउडमा एक सयभन्दा बढी नै चलचित्रहरू निर्माण भइरहेका छन् । यति धेरै चलचित्र बने पनि थोरै चलचित्रले मात्रै दर्शकमाझ आफ्नो छाप छोड्न सकेका छन् । अर्थात् कमै चलचित्रहरू मात्रै हप्ता, दुई हप्ता चल्ने गर्छन् । नेपाली चलचित्र उद्योगलाई हेर्दा लगानी उठाउने चलचित्र औँलामा गन्न सकिने मात्र छन् भने हिट हुने त एकाध मात्र रहेका छन् । नेपाली चलचित्रहरू पछिल्लो समयमा आएका केही नयाँपनका साथ अगाडि बढेको दाबी यससँग सम्बन्धित पक्षको रहेको छ । 

नेपाली चलचित्रको निर्माणसँगसँगै यसक्षेत्रमा लागेकाहरूको, कलाको सम्मानस्वरूप अन्य देशमा जस्तै हामीकहाँ पनि पुरस्कार, सम्मान तथा अवार्डको आयोजना सुरु हुन थाल्यो । पछिल्लो समयमा हरेक विधामा अवार्डहरू दिन थालिएको छ । अन्य विधाका अवार्डहरूले त्यति चर्चा नपाए पनि सिनेक्षेत्रका अवार्डहरू चर्चाका विषय बन्ने गरेका छन् । किनकि यो ग्ल्यामर क्षेत्र हो । हामीकहाँ पनि हरेक वर्ष विभिन्न विधामा चलचित्रसम्बन्धी कलाकार र यस क्षेत्रमा लागेकाहरूलाई उत्सवको रूपमा अवार्ड समारोह गरेर चलचित्र र कलाकारलाई पुरस्कृत र सम्मान गरिन्छ । यसो गर्नु भनेको कलाकारका कलालाई सम्मानका साथै प्रोत्साहन गर्नु पनि हो । त्यसैले राम्रो काम हो । 

अवार्डका कार्यक्रमहरू विश्वभरिमै हुने गरेका छन् । संसारको सबैभन्दा ठूलो फिल्मी अवार्ड एकेडमी (ओस्कार) लाई मानिन्छ । जुन अमेरिकन एकेडमी अफ मोशन पिक्चर्स आर्टस एण्ड साइन्सले प्रदान गर्ने गर्दछ । प्रत्येक वर्ष हलिउडका फिल्म र कलाकारहरूलाई तथा अङ्ग्रेजी भाषाबाहेक अन्य भाषामा बनेका उत्कृष्ट चलचित्र र कलाकारलाई अवार्ड दिइन्छ । 

हाम्रो छिमेकी देश भारतमा पनि चलचित्रसम्बन्धी विभिन्न अवार्डकार्यक्रमहरू हुने गर्दछन् जसलाई त्यहाँ उत्सवकारूपमा मनाएको देखिन्छ । फेरि त्यहाँको चलचित्र उद्योग पनि त व्यापक र विस्तृत छ । भनिन्छ त्यहाँको चलचित्रमा पाउने कलाकारको पारिश्रमिकले हाम्रो यहाँको एउटा चलचित्र नै बन्छ । भारतमा फिल्म फेयर, स्कृन अवार्ड, जी सिने अवार्ड, आइफा अवार्डलगायतका अवार्डहरू स्थापना र वितरण हुने गरेका छन् । 

चलचित्रक्षेत्रका व्यक्तित्वहरूका लागि यससँग सम्बन्धित हुने अवार्डहरूलाई चाडको र उत्सवका रूपमा लिने गरिन्छ । हामीकहाँ पनि चलचित्रसम्बन्धी अवार्डहरूको संख्या दर्जन पुगेको छ । हामीकहाँ रहेका अवार्डहरूमा डी सिने अवार्ड, इन्फा अवार्ड, नेफ्टा अवार्ड, बक्स–अफिस अवार्ड, राष्ट्रिय फिल्म पुरस्कार, इनास फिल्मी अवार्ड, एलजी सिने सर्कल फिल्म अवार्ड, एनएफडिसी अवार्ड, कामना अवार्ड, ग्लोबल नेपाली फिल्म अवार्ड, ओफा अवार्ड, फान अवार्ड, क्रिटिक्स फिल्म अवार्ड, अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड, ब्लक बस्टर नेपाली फिल्म अवार्डलगायतका रहेका छन् । 

त्यस्तै गीत संगीतका अवार्डहरू पनि हामीकहाँ थुप्रै हुने गरेका छन् । गीत संगीतसम्बन्धी अवार्डहरूमा नेपाल म्युजिक अवार्ड, कान्तिपुर नेसनल म्युजिक अवार्ड, इमेज अवार्ड, हिट्स एफएम म्युजिक अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, तीज म्युजिक अवार्ड, ओएस नेपाल म्युजिक अवार्ड, हिमालयन म्युजिक अवार्ड, एरिना म्युजिक अवार्ड, कालिका म्युजिक अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड, नेपाल म्युजिक भिडियो अवार्ड, रापती म्युजिक अवार्ड, एमटिभी भिडियो म्युजिक अवार्ड, म्युजिक भिडियो अवार्ड, मोडल संस् अवार्ड, नेशनल पावर न्युज म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, नाटेश्वर म्युजिक अवार्ड, योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड, नेशनल क्यापिटल अवार्ड, ओएस म्युजिक अवार्ड, औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड, म्हेन्दोमाया म्युजिक अवार्ड, साधना म्युजिक अवार्ड, तामाङ फिल्म एण्ड म्युजिक अवार्डलगायतका थुप्रै अवार्ड छन् । 

यो आलेखमा म्युजिक अवार्डभन्दा पनि चलचित्र अवार्डकै बारेमा चर्चा गर्न खोजिएको छ । गीत संगीतका विधाका अवार्डहरूका बारेमा छुट्टै चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

वर्षेनी अवार्डहरू थपिइरहेका छन् । यसक्षेत्रमा लागेका सर्जकहरूको सम्मानका लागि सम्मान गर्नेहरूको सङ्ख्या बढनु राम्रो कुरा हो । निजी संस्था र सरकारी संस्था चलचित्र विकास बोर्डले यस्तो कार्य गर्दै आएका छन् । विभिन्न संस्था, मिडिया हाउसलगायतले अवार्डको आयोजना गरिरहेका छन् । हरेक वर्ष केही अवार्डको संख्या थपिएको छ भने पुराना आयोजकले निरन्तरता दिइरहेकै छन् । अवार्डको बढ्दो क्रमसँगै आयोजकहरू पनि थपिइरहेका छन् । नेपाली चलचित्र अवार्डहरू विदेशमा पनि वितरण हुन थालेका छन् । 

आयोजकहरूले अवार्ड निष्पक्ष गरिएको भने पनि यस्ता यस्ता अवार्डहरू आफ्नालाई बाँडफाँड गर्ने काममा सीमित रहेको आरोप पनि लाग्दै आएको छ । हामीकहाँ यसको कुनै मापदण्ड नभएर पनि यसतो भएको होला । 

केही अवार्ड पारदर्शी गर्न खोजिए पनि जुरी नै लुकाएर गरिएका अवार्डलाई कसरी पारदर्शी भन्ने ? अवार्डलाई निश्पक्ष, पारदर्शी बनाउने जुरीलाई अवार्ड आयोजकहरू जुरी नै सार्वजनिक गर्दैनन् । कुनै पनि अवार्ड आयोजकले जुरीको नाम गोप्य राखेपछि अवार्डको विश्वसनीयतामा शंका त हुन्छ नै । हामीकहाँ भएका अवार्ड वितरणमा एउटामा सर्वोत्कृष्ट हुँदा अर्कोमा मनोनयनमा समेत नपरेको पनि देखियो । चाकडी, चाप्लुसी, दाम र उपहार दिनेहरूले अवार्ड हात पार्छन् भन्ने आरोप पनि लाग्दै आएको छ । 

राम्रो लागेकाले अवार्ड पाउनुपर्छ भन्ने कुरा पनि हो तर आफूलाई मात्र नभएर जजहरूको आँखामा पनि राम्रो हुनुप¥यो । 

फेरि चलचित्र राम्रो हुनुको मापन के भन्ने पनि प्रश्न उठ्न सक्छ । हाम्रो संस्कार के पनि बसेको छ भने आफूले अवार्ड प्राप्त गर्दा उत्कृष्ट र निष्पक्ष भन्ने र आफूले नपाउँदा विरोध गर्ने हाम्रो प्रवृत्ति नै हो । केही अवार्ड पारदर्शी गर्न खोजिए पनि विवादरहित भने हुन सकेका छैनन् । नेपाली चलचित्रसम्बन्धी अवार्ड विवादमा पर्नुका कारण अवार्डसम्बन्धी कुनै नीति नभएर पनि हो । अवार्डका लागि निश्चित मापदण्ड बनाउन जरुरी भइसकेको छ । अवार्डका आयोजकहरू र चलचित्र विकास बोर्डले वहस गरेर एउटा निश्चित मापदण्ड बनाउन आवश्यक छ ।

अवार्ड आयोजकहरूले यस्ता कुरालाई सच्याएर अगाडि बढ्दा मात्रै यसप्रतिको सम्मान हुन्छ अन्यथा यो अवार्डको परम्परा आफ्नाले आफ्नालाई दिने व्यवहारमा मात्र सीमित हुन पुग्छ । 

सर्वश्रेष्ठ, सर्वस्वीकार्य, सुव्यवस्थित बनाउन नसके पनि अवार्डलाई कमभन्दा कम विवादित बनाउनेतर्फ आयोजकले ध्यान पु¥याउनु आवश्यक छ । यससँग सम्बन्धितहरूले नै यसको मर्यादा राख्नु जरुरी छ । अब हामीले हामीकहाँ हुने अवार्डमा संख्यात्मकभन्दा पनि गुणत्मकता खोज्नुपर्ने बेला आएको छ । यसका लागि यसैसँग सम्बन्धितहरूले चासो, सरोकार र खबरदारी गर्न पनि अनि जरुरी छ ।

‘डी सिने अवार्ड’ ले आफ्नो गौरवमय १०औं संस्करण सम्पन्न गरेको छ भने हामी यतिबेला ११ औं संस्करणको सघारमा छौँ ।

‘हाम्रै कला, हाम्रै संस्कृति, हाम्रै सिनेमा ः सभ्य, भव्य, सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल नाराका साथ डी सिने अवार्डको ११ औं संस्करण एक भव्य र सभ्य कार्यक्रमबीच यही वैशाख २१ गते शनिवार काठमाडौंमा सम्पन्न हुन लागिरहेको छ । 

पोखरा र हेटौंडा गरी दुई संस्करण काठमाडौंबाहिर भव्य र सभ्य रूपमा सम्पन्न भएका थिए भने बाँकी संस्करण काठमाडौंमै सम्पन्न भएका छन् । डिजिटल फम्र्याटमा बनेका चलचित्रहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले ‘डी सिने अवार्ड’ आयोजना गरिँदै आएको छ । छायाँछवि क्रियशनले आयोजना गर्ने यस अवार्डलाई चलचित्रकर्मीबीच उत्सवको रूपमा नै मनाउने गरिएको छ । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष तथा साहित्यकार÷गीतकारसमेत रहनुभएका शान्तिप्रियको अध्यक्षतामा यो अवार्ड वितरण हुँदैआएको छ । 

नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रूपमा डी सिने अवार्ड आयोजना हुँदैछ । यो अवार्डमा समग्र नेपाली चलचित्रकर्मीले गौरव गर्ने गरेका छन् । एघारौं ईएनआई छायाँछवि डी सिने अवार्ड–२०७६ का लागि लेखक निर्देशक कलाकार मोहन निरौला, पत्रकार–निर्देशक विजयरत्न तुलाधार, निर्देशक राजेन्द्र उप्रेती एवम् नेपालकै पहिलो महिला छायाँकार सवन मुखिया निर्णयक रहेका छन् । 

ईएनआई छायाँछवि डी सिने अवार्ड–२०७६ लाई निष्पक्ष एवम् विवादरहित रूपमा विगतका वर्षहरूदेखि नै आयोजना गर्ने कोसिस गरिरहेको लेखक÷निर्देशक तथा कलाकार मोहन निरौलाको अभिमत छ । 

सबै चलचित्रकर्मीको गौरवे छायाँछवि डी सिने अवार्ड आउँदा दिनहरूमा पनि अझ सबैको गौरव बन्नेतर्फ यात्रारत छ । सुरुदेखि नै यो गौरवमय अवार्डमा पंक्तिकारले पनि जोडिने अवसर पाएको छ । यो गौरव गर्ने विषय हो । सबै कलाकर्मीहरूलाई हार्दिक शुभकामना दिनु कर्तव्य पनि ठानेकी छु । 

(लेखक चलचित्र पत्रकार संघकी उपाध्यक्ष हुन् ।)