२४ घण्टे स्वास्थ्य सेवा सुरु

263

खोटाङ । खोटाङको ऐंसेलुखर्कमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टे स्वास्थ्य सेवा सुरु भएको छ । प्राथमिक उपचार गराउन समेत टाढा तथा अन्तै जानुपर्ने सर्वसाधरणको बाध्यतालाई मध्यनजर राख्दै ऐंसेलुखर्क गाउँपालिकाको पहलमा जुनसुकै वेलामा पनि स्वास्थ्यमा समस्या आएकालाई सेवा दिन २४ घण्टे स्वास्थ्य सेवा सुरु भएको हो ।

जिल्लाको उत्तरीक्षेत्रमा पर्ने सो क्षेत्रमा पटकपटक डाक्टर नआउदा प्राथमिक उपचारबाट समेत बञ्चित बन्नुपरेको अवस्थामा सरकारले दिने तलबमा थप पैसा गाउँपालिकाले दिने व्यवस्था मिलाएर डाक्टरको बन्दोबस्त गरिएपछि २४ घण्टे स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनुभयो । गाउँपालिका अध्यक्ष निरौलाका अनुसार एमबिबिएस डाक्टरलाई मासिक थप २० हजार, अहेवलाई १२ हजार, एक्सरे सहयोगीलाई ७ हजार र कार्यालय सहयोगीलाई १० हजार दिने व्यवस्था गरिएको छ । गाउँपालिकावासीलाई स्वास्थ्यमा सुविधा दिन गाउँपालिकाले थप पैसा दिने व्यवस्था गरेको हो ।

प्राथमिक स्वास्थ्य केन्दमा सिएमए १ जना, ल्याब एसिस्टेन्ट १ जना र एक्सरेमा १ जनाले काम थालेको स्वास्थ्य केन्द्रका प्रमुख ज्योतिप्रकास साहले बताए । १३ मंसिरबाट सुरु भएको २४ घण्टे स्वास्थ्य सेवाबाट हालसम्म १० जनाले सेवा लिएका छन् । जतिवेला पनि विरामीहरु स्वास्थ्य केन्द्रमा आउन सक्नुहुन्छ, प्रमुख साहले भने, यहाँ उपचार संम्भव नहुनेलाई जिल्ला अस्पताल दिक्तेल रेफर गर्छौ । साथै, गाउँपालिकाको बन्दोबस्तमा प्रसुती सेवालाई सुरक्षित बनाउन स्वास्थ्य केन्द्रले निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरीलाई १÷१ सेट न्यानो कपडा समेत दिंदै आएको छ ।